Banking Khabar
अपराध

११ वर्षीया बालिकामाथि बलात्कारपछि हत्याका पाँच आरोपी सार्वजनिक

June 27, 2025
सेयर:

काठमाडौं । एघार वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरेका पाँच जना आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ।

शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पाँच जनालाई सार्वजनिक गरेको हो।

असार ११ गते बिहान साढे ९ बजेतिर भोटेकोशी गाउँपालिका(५ छ्याङ्दीको एक जंगलमा ११ वर्षीया बालिका मृत फेला परेकी थिइन्।

उनको बलात्कारपछि हत्या आरोपमा प्रहरीले भोटेकोशीकै २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङलाई पक्राउ गरेको हो।

कोलगाउँ बस्ने ती बालिकाको शव घरदेखि अन्दाजी ४ सय मिटर पर रहेको बारीमा फेला परेको थियो। शव फेला परेपछि एसपी रामेश्वर कार्कीको नेतृत्वमा प्रहरीको टोली खटिएको थियो।

अनुसन्धानका लागि काठमाडौंबाट तालिम प्राप्त कुकुरसमेत झिकाएको थियो।

प्रहरीले घटनास्थलमा निरीक्षण, सबुत संकलन, सोधपुछ र तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरेको थियो।

अनुसन्धानबाट पाँच जना आरोपी रहेको खुलेको हो। प्रहरीले आरोपीको घरबाट प्रमाण फेला पारेको प्रहरीले जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद थपेको छ।