Banking Khabar
मुख्य समाचार

कोरोनाको संक्रमण बढेपछि कांग्रेस केन्द्रीय समिति बैठक दसैं-तिहारपछि मात्रै बस्ने

October 14, 2020
सेयर:

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दसैं तिहारपछि बस्ने भएको छ।

यसअघि दुई पटक मिति तय भएर स्थगित भएको बैठक दसैं-तिहारपछि मात्रै बस्ने भएको हो।  कोरोनाको संक्रमण बढेको र धेरै जना एकैपटक भेला भएर छलफल गर्न सक्ने अवस्था नभएका कारण दसैंअघि बैठक नबस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

विशेषगरी महाधिवेशनको सन्दर्भमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो। पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले लिखित रूपमा पेश गरेको असन्तुष्टिका विषयमा पनि बैठकमा छलफल गर्ने एजेण्डा रहेको थियो।

प्रवक्ता शर्माले फागुन ७ मा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि अब बस्ने बैठकमा छलफल हुने बताउनुभयाे ।

फागुनमा महाधिवेशन सम्पन्न नभए जेठमा गर्ने गरी तयारी गरिने उहाँले बताउनुभयो । यसअघि पहिलो पटक असोज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रीय सदस्यहरूमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो।

दोस्रो पटक असोज २५ गतेका लागि बैठक बोलाइएको भए पनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो।