Banking Khabar
ब्यानर न्युज

सरकारले गर्‍यो एकैपटक ३१ सहसचिवहरुको सरुवा,सञ्चार मन्त्रालयमा गोगन हमाल (नामावलीसहित)

shilalekha
shilalekha
प्रकाशित: February 25, 2021
February 25, 2021
सेयर:

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको आदेशसहितको फैसला गरेसँगै  प्रधानमन्त्री केपी शर्मा ओली  सरकारले साढे दुई दर्जनभन्दा बढी सहसचिवहरुको एकैपटक सरुवा गरेको छ।

बिहिबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयमा कार्यरत सहसचिवलाई सरुवा तथा पदस्थापन गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतको राजस्व अनुसन्धान विभागका सहसचिव दीर्घराज मैनालीलाई अर्थमन्त्रालय लगिएको छ। आन्तरिक राजस्व विभागका गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका खगेन्द्रप्रसाद रिजाल र शिवकुमार कार्कीलाई सरकारले गृह मन्त्रालय पुर्‍याएको छ । गृहका अर्जुनकुमार शर्मा र रमेश शिवाकोटीलाई अख्तियारमा लगिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय मातहतकै सम्पत्ति शुद्धीकरण विभागका सहसचिव रूपनारायण भट्टाराईलाई राष्ट्रपति कार्यालय पुर्‍याइएको छ।यस्तै यातायात विभागका महानिर्देशक गोगनबहादुर हमाललाई सूचना तथा सञ्चार मन्त्रालयमा लगिएको छ ।

सहसचिव शोभाकान्त पौडेलको सरुवा प्रदेशबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका रघुराम विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रालय सुदूर पश्चिममै सरुवा गरेको छ।
केही सहसचिवलाई जिल्ला पठाएको छ भने केहीलाई केन्द्रमा तानेको छ।

सरुवाका लागि ७० जना सहसचिवको प्रारम्भिक सूची तयार भए पनि काँटछाँट गर्दै ३५ जना पुर्‍याइएकोमा अन्तिममा निर्णय भएर आउँदा ३१ जनाको मात्रै सरुवा भएको छ।