Banking Khabar
ब्यानर न्युज

माधव नेपालको पार्टीमा गएका नेताहरुलाई निष्कासन गर्ने एमालेको निर्णय

August 26, 2021
सेयर:

काठमाडौं । नेकपा एमालेले पार्टी परित्याग गर्दै नयाँ दल खोलेकोमा माधवकुमार नेपालसहितका नेताहरूको अभिलेख पार्टीबाट हटाउने निर्णय गरेको छ।

आज तुल्सीलाल प्रतिष्ठान भवनमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गर्नेहरूको अभिलेख पार्टीबाट हटाएर निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

‘पार्टी परित्याग गर्दै नयाँ दल खोल्नेहरूको पार्टी अभिलेखबाट नाम हटाउने र निर्वचन आयोगमा जानकारी दिने निर्णय भएको छ,’ उनले भने, ‘कसैले भूल महसुस गरेर सच्याउन चाहेर आएमा ढोका खुल्लै राख्ने निर्णय भएको छ।’

निर्वाचन आयोगबाट सनाखत गर्ने क्रममा विवादास्पद निर्णय भएकोमा त्यसविरूद्ध कानुनी लडाइँ लड्ने पनि एमालेले बताएको छ।

पार्टीले कारबाही गरेकाहरूलाई र अनुपस्थित रहेकालाई पनि आयोगले सनाखत गराएकोले कानुनी लडाइँ लड्ने निर्णय भएको ज्ञवालीले बताए।

पार्टीले सांसदबाट हटाउन सूचना दिए पनि सभामुखले सूचना टाँस नगरेर गम्भीर गल्ती गरेको प्रवक्ता ज्ञवालीले बताए।

साथै उनले अध्यादेश संविधानविपरीत रहेको र स्थानीय तहका प्रमुखलाई दल त्याग गर्न सक्ने व्यवस्था राखेकोमा पनि विरोध गरेका छन्।