Banking Khabar
ब्यानर न्युज

भिड जम्मा पारेर अदालतलाई यही गर् भन्न मिल्दैन: शेरबहादुर देउवा

February 11, 2021
सेयर:

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सडकमा भिड जम्मा पारेर अदालतलाई यही गर् भन्न नमिल्ने बताएका छन्।

पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अदालतमा मुद्दा छ, नारा लगाएर यही गर् भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौं, जुलुसले हुने भए किन चाहियो अदालत।’ सभापति देउवाले काँग्रेस निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको बताउँदै संसद् पुनःस्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने धारणा व्यक्त गरे।

आफूले जान्दाजान्दै हार्ने निर्वाचन पनि गराएको स्मरण गर्दै उनले भने, ‘दुई वर्षपछि भए पनि, अहिले भए पनि मुलुकमा निर्वाचन हुन्छ, लोकतान्त्रिक पार्टी निर्वाचनका लागि सधैँ तयार हुनुपर्छ।’ फरक प्रसङ्गमा उनले काँग्रेसले आफ्नो विधानमा महिला, आदिवासी जनजाति, दलित, थारू, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक समुदाय सबैलाई उचित आरक्षणको व्यवस्था गरी सबैभन्दा समावेशी पार्टी बनेको बताए।

सभापति देउवाले पार्टीले गरेको समावेशी व्यवस्थाका बारेमा सबै समुदायको तल्लोस्तरमा पुगी सो बारेमा प्रचार गर्न र काँग्रेसको पक्षमा माहोल बनाउन नेता कार्यकर्तालाई निर्देशनसमेत दिए।