Banking Khabar
कोशी प्रदेश

हेलिकप्टर चार्टर गरेर मुख्यमन्त्री शेरधन राई ससुराली पुगे (फोटोफिचर)

March 16, 2021
सेयर:

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकोप्टर चढेर ससुराली पुगेका छन्।

गत माघ ११ गते संखुवासभाकी मोडल जङमु शेर्पासँग काठमाडौँमा विवाह गरेका मुख्यमन्त्री राई त्यसको केही समयपछि हेलिकोप्टरमा ससुराली पुगेको भए पनि तस्बिर भने मंगलबार जाङ्मुले सामाजिक सञ्जालमा राखेकी हुन्। त्यसपछि ती तस्बिरलाई लिएर मिडिया र सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ।

शेर्पाले सामाजिक सञ्जालमार्फत परिवारका साथ आफ्नो जन्मस्थल जान पाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी छिन् । उनले आफू गाउँमा जन्मिएको तर नबसेको, गाउँ सुन्दर रहेको र विकासमा पछाडि रहेका कारण मुख्यमन्त्री राईको ध्यानाकर्षण समेत गरेको बताएकी छन्।

‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन्, ‘म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ !’

उनले त्यहाँ आफूहरु पुग्दा सबैले न्यानो स्वागत र सत्कार गरेको भन्दै गाउँमा सडक, बिद्युत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेकाले त्यसमा आफूहरुको ध्यानाकर्षण भएको बताएकी छिन् । ‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महशुस गरेँ । किनकी त्यहाँ सडक, बिद्युत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोडन बाँकी रहेछ’, शेर्पाले भनेकी छिन्, ‘अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ १ सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’