Banking Khabar
ब्यानर न्युज

ओली प्रचण्डलाई बाबुरामले लगाएको आरोप प्रमाण सार्वजनिक गर्न नेकपाको चुनौती

October 14, 2020
सेयर:

काठमाडौं । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलविद्युत् परियोजनामा घूस लिएको भनेर पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले लगाएको आरोपको नेकपाले भर्त्सना गरेको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधवार विज्ञप्ति जारी गरी ओली-प्रचण्डले अर्बौं घूस लिएको भनी डा. भट्टराईले लगाएको आरोपको भर्त्सना  गर्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ,हाम्रा पार्टीका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तथा हाम्रा पार्टीका अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेतले बूढीगण्डकी परियोजनामा अर्बौं रकम घूस लिएको भनी सार्वजनिक रूपमा प्रकट गरेको अभिव्यक्ति बिल्कुल आधारहीन, झूठ, गलत, कपोलकल्पित एवं दुरासयपूर्ण रहेकाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) त्यसलाई पूर्णरूपमा खारेज गर्दै घोर भर्त्सना गर्दछ,।

श्रेष्ठले त्यससँग सम्बन्धित कुनै प्रमाण भए सार्वजनिक रूपमा र राज्यको सम्बन्धित निकायमा पेश गर्न चुनौती समेत दिनुभएको छ ।

डा. भट्टराईले ओली, प्रचण्ड तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बूढीगण्डकी परियोजनामा ९ अर्ब घूस लिएको प्रमाण आफूसँग रहेको दाबी गर्नुभएको थियो ।
यस अघि डा. भट्टराईको अभिव्यक्तिप्रति प्रतिपक्षि दल नेपाली काँग्रेसले पनि चुनौती दिदै प्रमाण सार्बजनिक गर्न भनेको थियो ।

गत विहिबार गोर्खाको पालुङटार नगरपालिका–६ मा आयोजित कार्यकर्ता भेटघाटका क्रममा डा. भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनामा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर ९ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाउनुभएको थियो ।