Banking Khabar
ब्यानर न्युज

प्रचण्ड-नेपाल पक्षका ७ मन्त्रीद्वारा सामूहिक राजीनामा, गृहमन्त्री थापा र उद्योगमन्त्री भट्टले दिएनन्

December 20, 2020
सेयर:

काठमाडौँ । प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति प्रकट गर्दै ७ जना मन्त्रीले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले राजीनामा दिएका हुन् । पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

सामूहिक राजीनामा दिँदै जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७७ पुस ५ गतेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीद्वारा प्रस्तुत प्रतिनिधिसभाको विघटनको प्रस्तावमा हाम्रो असहमति रहेको सर्वविदित नै छ ।

त्यसलाई रोकन हाम्रो तर्फबाट अधिकतम प्रयास भएको पनि सार्वजनिक नै छ । गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य र स्थितरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं ।’

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

राजीनामा दिने मन्त्रीहरु

१. गिरिराजमणि पोखरेल( शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री)

२. वर्षमान पुन( ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री)

३. घनश्याम भुसाल( कृषि तथा पशुपन्छी विकास मन्त्री)

४. योगेशकुमार भट्टराई( संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

५. शक्तिबहादुर बस्नेत( वन तथा वातावरण मन्त्री)

६. रामेश्वर राय यादव( श्रम तथा रोजगार मन्त्री)

७. बिना मगर( खानेपानी तथा सरसफाइ मन्त्री)