Banking Khabar
ब्यानर न्युज

कांग्रेसको वडा अधिवेशन स्थगित,केन्द्रीय महाधिवेशनको मिति भने यथावत !

July 24, 2021
सेयर:

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनका तल्लो तह लगायत सवै अधिवेशन स्थगित गरिएको छ।

शनिबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले साउन १२ गतेदेखि हुने तल्लो तहका अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। भदौ १६ देखि १९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनको मिति भने यथावत रहने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

पार्टीभित्र महत्वपूर्ण मानिएको क्रियाशिल विवाद नसुल्झिएका कारण तल्लो तहका अधिवेशन स्थिगित गर्नुपरेको पार्टीका प्रवक्ता शर्माको भनाइ छ ।

यही साउन १२ गते बिहान सभापति देउवालाई क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन बुझाउनुहुनेछ । आजको पदाधिकारी बैठकमा पनि महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भएको नेताहरुले बताएका छन् ।

प्रतिनिधि कायम राखेर महाधिवेशन गर्ने, केन्द्रीय कार्य समिति र प्रदेश समितिको मात्र अधिवेशन गर्ने वा महाधिवेशन सार्ने कानूनी र संवैधानिक उपाय सोच्ने लगायतका विकल्पमा छलफल भएको छ ।