Banking Khabar
घुमफिर

ट्रेकिङका लागि प्रसिद्व संसारकै आठौं अग्लो हिमाल मनास्लु

August 27, 2020
सेयर:

काठमाडौं । मुग्लिङबाट मर्स्याङ्दी पुल तरेर पोखरातर्फ लाग्दा उत्तरतिर आँखै अगाडि ठोक्किने गरी सेताम्मे हिमचुचुरा देखिन्छन्। पोखरा नपुगुन्जेल पृथ्वी राजमार्गमा झण्डै ९० किलोमिटर यात्रा गर्दा देखिने यो दृश्यले मन लोभ्याइरहन्छ।

तपाईं बन्दीपुर पुग्नुभएको छ भने त त्यहाँबाट बिहानपख सुनजस्तै टल्किरहेको यो हिमशृंखला अवश्य देख्नुभएको होला। यसरी मनै चोर्ने गरी देखिने हिमशृंखलाको नाम हो, मनास्लु।

संसारकै आठौं अग्लो हिमाल मनास्लु (८१६३ मिटर) सँगै काँधमा काँध मिलाएर लहरै उभिएका छन्,  न्यादी चुली (७८७१ मि.), हिमालचुली ( ७८९३ मि.) र बौद्ध हिमाल (६६९२ मि.)।

हेर्दा जति सुन्दर छ, आरोहणका लागि त्यत्तिकै कठिन मानिन्छ मनास्लु। आरोहणका क्रममा थुप्रै आरोहीले जीवन गुमाएकाले यो हिमाललाई ‘किलर माउन्टेन’ पनि भन्ने गरिन्छ। जतिसुकै कठिन भए पनि यो शिखर पनि मानव पाइतालाको स्पर्श पाउनबाट चुकेको छैन।

सन् १९५६ मा जापानी आरोही तोसी ईमानासी र उनका शेर्पा सहयोगी ग्याल्जेन नोर्बुले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए। यो मनास्लु हिमशृंखलालाई बुढीगण्डकी र मस्र्याङ्दी नदीले छुट्याएका छन्।

 

फोटो क्रेडिट: सगरमाथा आरोही पूर्णिमा श्रेष्ठको ट्विटर