Banking Khabar
मुख्य समाचार

रूसले युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा उभिए नेपालसहित १४१ देश

February 24, 2023
सेयर:

काठमाडौं । नेपालसहित संयुक्त राष्ट्रसंघका १४१ राष्ट्रहरूले युद्ध अन्त्य गरेर रूसले तत्काल युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका छन्।

बिहीबार भएको संयुक्त राष्ट्रसंघको ११ औं आपतकालीन विशेष सेसनमा भएको मतदानमा नेपालसहित १४१ मुलुकले युद्ध अन्त्य गरी रूसी सेनाले युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका हुन्।

बेलारूस, उत्तर कोरिया, इरिट्रिया, माली, निकारागुआ, रूस र सिरियाले मात्रै उक्त प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

नेपालका दुबै छिमेकी भारत र चीनसहित दक्षिण एसियाका श्रीलंका, पाकिस्तान, बंगलादेश पनि मतदान सहभागी भएनन्। ३२ वटा मुलुकले मतदानमा सहभागी नभएको युएनन्युजले जनाएको छ।

शुक्रबार रूसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा भएको छ। पछिल्ला एक वर्षमा संयुक्त राष्ट्रसंघले विभिन्न चरणमा पेस गरेका प्रस्तावहरूमध्ये नेपाल सबैमा युक्रेनको पक्षमा उभिएको छ।