नेपलागन्ज । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा खर्च प्रगतिमा सहरी तथा खानेपानी विकास मन्त्रालय उत्कृष्ट ठहरिएको छ ।
लुम्बिनी प्रदेशको लेखा नियन्त्रक कार्यलयका अनुसार तीन विकासे मन्त्रालयमध्ये बजेट खर्च प्रतिशतका आधारमा खानेपानी तथा सहरी विकास मन्त्रालय उत्कृष्ट देखिएको हो । यो मन्त्रालयले ८४.५५ प्रतिशत बजेट कार्यान्वयन गरेको हो ।
धेरै बजेट खर्च गरेको विकासे मन्त्रालय अर्थात् खानेपानी तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री सरोज थापा (रोज राणा)ले खर्चको हिसाबले उत्कृष्ट हुनुमा कर्मचारीहरूको सहयोग महत्त्वपूर्ण रहेको बताए ।
यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ७७.०७ प्रतिशत र भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको ६६.९३ प्रतिशत बजेट खर्च गरेको जनाइएको छ ।
आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हुमराज भुसालले पुँजीगत बजेट धेरै खर्च गर्ने मन्त्रालयलाई प्रोत्साहन गर्ने, कम खर्च गर्नेहरूलाई कठोर समीक्षा गरेर अगाडि बढ्नु पर्ने बताए ।
लुम्बिनीका मन्त्रालयमध्ये महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च सबैभन्दा कम अर्थात् ६.९ प्रतिशत छ ।
अन्य मन्त्रालयहरूमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३८.९२ प्रतिशत, आर्थिक मामिला मन्त्रालयले ६८।२० प्रतिशत, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले ६२।६२ प्रतिशत बजेट खर्च गरेका छन् ।