Banking Khabar
अदालत

ठगी आरोपमा पक्राउ परेका दिपेन्द्र अग्रवाल हाजिर जमानीमा छुटे

July 31, 2025
सेयर:

काठमाडौं। ठगी आरोपमा पक्राउ परेका सेयर कारोबारी दिपेन्द्र अग्रवाल हाजिर जमानीमा छुटेका छन्।

बुधबार सरकारी वकिलको कार्यालय काठमाडौंले अग्रवाललाई हाजिर जमानीमा रिहा गरेको हो।

उनलाई अहिले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएकाले हाजिर जमानीमा छाडिएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख तथा सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए।

‘हाजिर जमानीमा भएपनि उहाँमाथि अनुसन्धान भइरहेकै हुन्छ। प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन ल्याएपछि मुद्दा जानेरनजाने त्यही प्रतिवेदन हेरेर निर्णय हुन्छ,’ उनले भने।

गत शुक्रबार जिल्ला अदालत काठमाडौंबाट चार दिन हिरासतमा राख्न अनुमति लिएको थियो।

सेयरमा लगानी गर्ने विषयमा ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

पीडितलाई सेयर दिने भन्दै रकम लिएको तर नदिलाएको आरोप अग्रवालमाथि छ। यही ठगी घटनामा उनकी श्रीमती र बहिनी पनि मुछिएकी छन्। पीडितले अग्रवालकी श्रीमतीको खातामा एक करोड र बहिनीको खातामा १५ करोड राखिदिएको जाहेरीमा उल्लेख गरेको एसपी बोहोराले बताए।

तर उक्त रकम बराबरको सेयर नपाएपछि ठगी तथा आपराधिक विश्वासघात कसुर गरेको भन्दै पीडित प्रहरीमा पुगेका हुन्।

अग्रवाल यसअघि पनि विवादमा आएका थिए।उनी गोल्डम्यान इन्भेष्टमेन्टको नाममा लगानीकर्ताहरूलाई ठगी गरेको आरोपमा अनुसन्धानमा तानिएका थिए।

उनी क्लब हाउस लगायतका सामाजिक सञ्जालमार्फत् निश्चित कम्पनीको सेयर किनबेच गर्न प्रोत्साहित गर्थे। यसअघि पनि आफूले बेचेको सेयर आफै किनबेच गर्ने गरेकोसमेत उनलाई आरोप लागेको थियो।