Banking Khabar
अदालत

आचारसंहिताविपरीत चार न्यायाधीशले प्रधानमन्त्रीसँग भेटघाट गरेको खुलासा

January 15, 2021
सेयर:

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सर्वोच्च अदालतका चार न्यायाधीशहरूसँग भेटवार्ता गरेको खुलेको छ।

असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा त्यही मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश सपना मल्ल प्रधानसहित चार न्यायाधीशसँग गोप्य रुपमा भेटेका हुन्।

झगडियाका कुनै पनि पक्षसँग भेट्न नमिल्ने आचारसंहिताविपरीत सर्वोच्च अदालतका चार न्यायाधीशले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेको खुलेको हो ।

यी चारजनामध्ये दुईजनाले गत २६ पुसमा र दुईजनाले गत २७ पुसमा प्रधानमन्त्रीलाई भेटेको स्रोतले जनाएको छ । यसबारेमा इजलासमा वहसकै क्रममा विघटित संसदकी सांसद शशि श्रेष्ठले उठाएकी थिइन् ।

२६ गते दिउँसो न्यायाधीशहरू सपना मल्ल प्रधान र हरिकृष्ण कार्कीले भेटेका हुन् । कार्की संवैधानिक इजलासबाट हटेका हुन् भने मल्ल पछि राखिएकी न्यायाधीश हुन् ।

त्यसैगरी २७ गते न्यायाधीशहरू दीपककुमार कार्की र मीरा खड्काले भेटेका हुन् । यीमध्ये कार्की वरिष्ठतम् न्यायाधीश हुन् । उनीहरूले साँझ ६ देखि १० को बीचमा प्रधानमन्त्रीसँग भेटेको स्रोतले जनाएको छ ।