Banking Khabar
अदालत

सर्वोच्चलाई सभामुखको जवाफ:’विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधि सभा मात्रै हो’

June 17, 2021
सेयर:

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले  प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी गर्ने व्यक्तिले विश्वासको मत प्राप्त गर्न सक्नेरनसक्ने आधार परीक्षण गर्ने स्थल प्रतिनिधि सभा मात्र भएको बताएका छन्।

प्रतिनिधि सभाका १४९ जना सदस्यको समर्थनसहित धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्ति गर्न शेरबहादुर देउवाको दाबी प्रस्तुत भएपछि विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल भनेको प्रतिनिधि सभा मात्र भएको उनले स्मरण गराएका हुन्। सभामुख सापकोटाको सर्वोच्च अदालतलाई बिहीबार जवाफ दिँदै सो कुरा बताएका हुन्।

‘राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार संविधानको धारा ७६ (५) बमोजिम तथा धारा ६६ ले दिएको अवस्था समेत छैन तसर्थ पनि राष्ट्रपतिज्यूको निर्णयसमेतका कार्य गैरसंवैधानिक रहेको छु,’ उनको भनाइ छ।

सभामुख सापकोटाले राष्ट्रपतिले नयाँ सरकारको दाबी गर्न २४ घण्टाको समय दिएकोमा प्रश्न उठाएका छन्। ‘प्रत्यर्थी सम्माननीय प्रधानमन्त्रीको आफूलाई प्रतिनिधि सभाको विश्वास नरहेको घोषणा गरेसँगै संविधानको धारा ७६ (५) बमोजिम को दाबी गर्न जम्मा २४ घण्टाको मात्र समय दिने, धारा ७६ (५) बमोजिम बमोजिम पुनः आफैं दाबी गर्ने र मध्यरातमा प्रतिनिधि सभा नै विघटन गर्न सिफारिस गर्ने कार्य लोकतन्त्रको मूल मान्यता, संवैधानिक सर्वोच्चता तथा विधिको शासनको प्रतिकूल मात्रै नभै बहुसंख्यकवादको सिद्वान्त समेत आकृष्ट हुन्छु, जवाफमा भनिएको छ।